गुल्मी- गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी हुनुभएको छ ।
उहाँले सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करीब २ हजार मतले पराजित गरेका हुन्।
गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित हुनु भएको हो । विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको छ ।
गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याउनु भयो । उता रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाउनु भएको छ । विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी हुनुभएको छ ।
२०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित हुनु भएको थियो । एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीकी सचिव झाँक्रीले राम्रै टक्कर दिए पनि विष्ट नै विजयी हुनु भयो ।
झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाको समेत समर्थन रहेको थियो।
विष्टसँगै संघको उम्मेदवारी दावेदार शेषकान्त गौतमले एमाले छाडेर झाँक्रीलाई साथ दिने घोषणासँगै गुल्मी २ मा ठूलै हलचल भएको थियो। तर परिणाममा भने ‘शिष्ट र शालीन’ परिचय बनाएका विष्टकै पक्षमा आयो।
को हुन् विष्ट ?
गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। उहाँ गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बन्नुभयो ।
२०६५ मा एमालेको केन्द्रिय सदस्य हुनुभएका उहाँ २०७१ मा केन्द्रीय सचिव हुनुभयो । हाल उहाँ एमालेकै सचिव हुनुहुन्छ ।
विष्टले कानुन र व्यवस्थापनमा स्नातक गर्नुभएको छ । विष्ट उर्जा र श्रम तथा रोजगार मन्त्रीसहित २ पटक मन्त्री भइसक्नुभएको छ ।






प्रतिक्रिया