अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र पौडेलको छैटौँ पटक संसद् यात्रा

रामचन्द्र पौडेलको छैटौँ पटक संसद् यात्रा


दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ ।

उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पाँच हजार ३७५ मतान्तरले पराजित गर्नुभयो ।

कुल ६६ हजार १५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार ३१८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ८७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ ।

पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो। उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ ।