धनकुटा – धनकुटामा प्रतिनिधिसभाको १ र प्रदेशका २ समेत गरी तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । २०७४ को निर्वाचनमा पनि एमालले धनकुटाका सबै पालिकासहित तीनवटै क्षेत्र जितेको थियो ।
संघतर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका सुनिलकुमार थापालाई राजेन्द्रले हराउनुभयो । राईले ३० हजार १०० मत पाउँदा थापाले भने २८ हजार ७०४ मत पाउनु भयो ।
थापा पूर्वप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा हुन् । थापा राप्रपाको ठूलो समूहसहित उपमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गर्नुभएको थियो ।
२०७४ मा पनि राई ३७ हजार ३३३ मतसहित विजयी हुनुभएको थियो । त्यसबेला थापाले २६ हजार ८७४ मत प्राप्त गर्नुभएको थियो ।
धनकुटा प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ पनि एमालेका उम्मेदवार निरन राई विजयी हुनुभएको छ। उहाँ एमाले धनकुटाका सचिव हुन् ।
उहाँले सत्ता गठबन्धनका अर्जुनकुमार राईलाई हराउनु भएको हो । निरनले १७ हजार १८ मत पाउँदा नेकपा एसका अर्जुनकुमार राईले १० हजार २२५ मत पाउनु भएको छ । जसपाका रकम चेम्जोङ्ग ८ हजार २४७ मत ल्याएर तेस्रो हुनु भएको छ ।
प्रदेशसभा २ तर्फ पनि एमालेका जिल्ला अध्यक्षसमेत रहेका इन्द्रमणि पराजुली विजयी हुनुभएको छ । उहाँले माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गर्नुभयो । पराजुलीले १५ हजार ७९७ मत ल्याउँदा श्रेष्ठले ११ हजार २३० मत ल्याउनु भयो ।
पराजुली दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्दैहुनुन्छ । पराजित श्रेष्ठ पनि यसअघि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।






प्रतिक्रिया