विराटनगर – नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले एमाले नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ ।
‘प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्छ, ढुक्क हुनुहोस्,’ कार्कीले भन्नुभयो, ‘अहिले धेरै खालका कसरत भइरहेका छन्, तर हाम्रो पार्टी एमालेको नेतृत्वमै सरकार बन्ने हो ।’
उहाँले एमालेले सर्वसम्मत संसदीय दलको नेता छान्ने पनि दाबी गर्नुभयो । ‘हाम्रो पार्टीले संसदीय दलको नेता सर्वसम्मत छान्छ ।’
प्रदेश १ को ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा एमाले-राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुगेको छ । यता सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितेको छ। प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले-राप्रपा-जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ ।
प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । कूल सदर १७ लाख १५ हजार ५०७ मत गणना हुँदा एमालेले ५ लाख ९९ हजार ९५९ मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले तेस्रो स्थानमा १ लाख ८२ हजार ९०९ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जसपाले ५५ हजार ३१७ र नेकपा एसले ५० हजार ८७५ मत पाएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ । अन्य पार्टीहरुले थ्रेस होल्ड अर्थात् १ दशमलव ५ प्रतिशत मत कटाएका छैन ।






प्रतिक्रिया