काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।
खड्का प्रचण्डलाई भेट्न खुमलटारस्थित उहाँकै निवास पुग्नुभएको थियो । निर्वाचनको परिणाम आउँदै गर्दा माओवादीले प्रधानमन्त्रीमा दाबी गरेको छ । त्यस्तै कांग्रेसले पनि आफ्नो दाबी छाडेको छैन । जसका कारण सत्ता गठबन्धन कसरी अगाडि बढ्ला भन्ने चासोका बीच प्रचण्डलाई भेट्न खड्का खुमलटार पुगेका हुन् ।
यसअघि प्रचण्ड सुकुटे रिसोर्ट पुगेर ‘रिफ्रेस’ भएर फर्किनुभएको थियो । त्यस्तै खड्काले पनि कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको अभिव्यक्ति दिनुभएको थियो ।
उता गगन थापालगायतले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका छन् । अर्कातर्फ अन्तिम परिणाम आइनसकेको भए पनि सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि बहुमत पुर्याउन सकस हुने देखिएको छ । जसका कारण गठबन्धनभित्र ‘पावर शेयरिङ’को विषय पेचिलो बनिरहेका सन्दर्भमा खड्का र प्रचण्डको भेटलाई महत्वका साथ हेरिएको छ ।






प्रतिक्रिया