काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेकपा एमाले प्रदेशसभातर्फ पनि मधेशबाहेक सबैमा प्रथम छ।
निर्वाचन आयोगको अपराह्न ५:२० बजेसम्मको तथ्यांकमा प्रतिनिधिसभातर्फ २७ लाख ६६ हजार ९७६ समानुपातिक मतका साथ एमाले पहिलो स्थानमा छ भने २६ लाख ३५ हजार ८५२ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशमा पनि एमाले पहिलो र दोस्रो कांग्रेस भएका छन्। प्रदेश नम्बर १ मा ६ लाख ३२ हजार ७०४ मतका साथ एमाले पहिलो स्थानमा छ भने ५ लाख ३२ हजार ८४५ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ।
मधेस प्रदेशमा भने समानुपातिकमा कांग्रेस पहिलो स्थानमा छ। प्रदेशसभामा पहिलो स्थानमा रहेको कांग्रेसले ४ लाख १४४ समानुपातिक मत ल्याएको छ भने दोस्रोमा एमालेले ३ लाख ५१ हजार ७६८ मत पाएको छ।
बागमती प्रदेशमा भने फेरि एमाले पहिलो छ। एमाले ५ लाख ५४ हजार ६६२ समानुपातिक मत ल्याएको छ। यो प्रदेशमा पनि समानुपातिकमा कांग्रेस दोस्रो छ। अहिलेसम्म ४ लाख ६३ हजार ५२८ मत पाएको छ।
गण्डकी प्रदेशसभामा पनि समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ। यहाँ एमालेले अहिलेसम्म ३ लाख ४२ हजार ८७२ मत प्राप्त गरेको छ भने कांग्रेसले ३ लाख १९ हजार ४०९ समानुपातिक मत ल्याएको छ।
लुम्बिनी प्रदेशमा पनि समानुपातिकतर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म ५ लाख ७० हजार ९२१ मत ल्याएको छ भने दोस्रोमा कांग्रेसले ४ लाख ९९ हजार ९८६ मत पाएको छ।
कर्णाली प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। यहाँ एमालेले अहिलेसम्म १ लाख ८३ हजार ९५० र कांग्रेसले १ लाख ७० हजार ७५६ मत पाएका छन्।
सुदूरपश्चिम प्रदेशमा पनि समानुपातिक एमाले नै पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो। यहाँ अहिलेसम्म एमालेले २ लाख ४८ हजार ८४० तथा कांग्रेसले २ लाख ४३ हजार ३९ समानुपातिक मत प्राप्त गरेका छन्।






प्रतिक्रिया