अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समस्या समाधानका लागि पहल गर्छौं : प्रकाशमान सिंह

समस्या समाधानका लागि पहल गर्छौं : प्रकाशमान सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उहाँले यस्तो बताउनुभएको हो । मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै कर्मचारीले पानी पथान्तरणमा असहयोग गर्ने चेतावनी दिएका छन् ।

आज सिंहलगायत बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसद, मेलम्चीका नगरप्रमुख आइतमान तामाङ र हेलम्बुका प्रमुख निमा ग्याल्जेन शेर्पासहितले खानेपानी मुहानको अवलोकन गर्नो क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराउने क्रममा कर्मचारीको तर्फबाट समस्या राख्नुभएको हो ।

निर्देशक श्रेष्ठले सरकारले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पूरा गर्न माग गर्नुभयो ।

सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको उहाँको भनाइ थियो । निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी ल्याएर खुवाउँछौँ भनेर भोट मागेजस्तै आफूहरूले पनि पानी पठाएबापत बजेट पाइन्छ भनेर जनतासँग मत मागेको बताउँदै दुवैतर्फको माग सम्बोधन हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताउनुभएको थियो ।