काठमाडौं- दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको जानकारी दिनुभएको छ ।
निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने प्रजिअ थापाले बताउनुभयो ।
पूर्वमा धनगढी उपमहानगरपालिका १ पुरानो फूलबारी बसपार्क पुष्पलाल चोक, पश्चिममा धनगढी उपमहानगरपालिका ४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगरपालिका १ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





प्रतिक्रिया