अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङको पात्लेगाउँमा घरघरमा धारा

बागलुङको पात्लेगाउँमा घरघरमा धारा


बागलुङ – दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड–१० पात्लेगाउँका  बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए । अहिले नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँले सहज बनेको छ ।

पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो । छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आउनुभएका रास्कोटीको मुहारमा अहिले खुसी छाएको छ । घरघरमा धारा निर्माण भएपछि रास्कोटीलगायत सिङ्गो गाउँलेको अवस्था फेरिएको छ । यसअघि बस्ती नजिक खानेपानीको मुहान नहुँदा गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो । अहिले उक्त समस्याबाट स्थानीय मुक्त भएका छन् ।

वर्षौंदेखि पोखरी र कुवाको फोहर पानी छानेर उपभोग गर्नुपर्ने बाध्यता थियो । एक गाग्री पानी ल्याउन तीन घण्टाको यात्रा गर्नुपथ्र्यो । “बाउबाजेले यस्तै कुवा, पोखरीको पानी खाए, हामीले पनि सानैदेखि टाढाबाट पानी बोकेर खायौँ, बल्ल घरमा पानी आयो”, रास्कोटीले भन्नुभयो ।

रास्कोटीले तीन घण्टा टाढाको छिमेकी गाउँ दर्लिङखोलाबाट पानी बोकेर उपभोग गरेको विगत सुनाउनुभयो । “अधिकांश समय पानी बोक्नमै बित्थ्यो”, उहाँ भन्नुहुन्छ, “पानी भर्न छिमेकीसँग झगडा हुथ्यो ।”

स्थानीय शान्ती थापा सहर बजार नजिकको गाउँमा घरमा धारा नहुनु दुःखद कुरा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी काकाकुल भयौँ, खानेपानीका लागि विभिन्न निकायलाई गुहा¥यौँ, कुनै सुनुवाइ भएन ।”

घण्टौँ लगाएर खाली खुट्टा पानी बोक्दा बिरामीसमेत हुने गरेको थापाले विगत स्मरण गर्नुभयो । समयमा पानी ल्याएर घर नआउँदा बालबालिकालाई विद्यालय पठाउनसमेत नसेको उहाँले बताउनुभयो । “टाढाको पानी, बिहान उज्यालो नहुँदै जानुपथ्र्यो, नत्र पालो पाउन मुस्किल पथ्र्यो, केटाकेटीलाई स्कुल पठाउन अबेर हुन्थ्योे”, थापाले भन्नुभयो, “कति समय त फोहर पानी खाँदा बिरामी पनि परियो ।”

स्थानीय सुनिता विकले चाँडो पालो पाउनका लागि रातको समयमा जङ्गलको बाटो हिँडेर पानी बोकेको अनुभव सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “पानी बोक्नुपर्दा खाना र खाजा खाने समय एउटै हुन्थ्यो, अरु काम गर्ने समय नै मिल्दैनथ्यो ।”

नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले प्राथमिकतामा राखेर खानेपानीको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले जिल्लाका अन्य ठाउँमा समेत नेवाले पानीको व्यवस्थापन गरिरहेको बताउनुभयो । घना जङ्गलबीचको पात्लेगाउँमा २९ घरमा २१ धारा निर्माण गरिएको छ । धारा निर्माण गर्न करिब रु ४५ लाख खर्च भएको नेवाले जनाएको छ । यसका लागि नेवाले रु ३१ लाख ५० हजार, बडीगाड गाउँपालिकाले रु तीन लाख ८३ हजार र स्थानीयले रु १० लाख बराबरको श्रमदान गरेका थिए । गाउँदेखि छ किलोमिटर टाढाको निगलपानी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो ।