काठमाडौं-नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनका उम्मेद्वार धनराज गुरुङलाई बधाइ दिंदै आफूले लोकतन्त्रवादी नेताको रुपमा चिनेकोमा चापाकोटको बुथ कब्जाले आफ्नो बुझाइलाई खण्डित गरेको बताउनुभएको छ । स्याङ्जा २ मा बुथ कब्जा गरेर गठबन्धनले विदेशमा भएका र मरेका मान्छेका नाममा समेत भोट हालेको पुन मतदानको माग गरे पनि राज्यले नसुनेकोमा अर्यालले आक्रोस पोख्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै अर्यालले काँग्रेस उपसभापति गुरुङले स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न नसकेको उल्लेख गर्नुभएको छ । बुथ कब्जा गरिएको ठाउँमा पुन मतदानको माग गरेकी अर्यालले आफू जनताको मतबाट पराजित हुन तयार भएपनि राज्यबाट सुनुवाई नभएको गुनासो गर्नुभयो ।
अर्यालले लेख्नुभएको छ ,‘म र म आवद्ध पार्टी नेकपा एमालेको तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं ।साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।’
एमाले सचिव अर्यालले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्दै गुरुङलाई शुभकामना समेत दिनु भएको छ । युवाहरुको जोश जाँगरलाई स्वार्थ अनुकूल दुरुप्रयोग गरी प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्ममा नलगाउन उहाँको आग्रह छ ।
गुरुङलाई शालिन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले बुझाइ झुठो प्रमाणीत गरिदिएको समेत अर्यालको भनाइ छ ।
उहाँले लेख्नु भएको छ ,‘मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन् ।खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पुर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु ।’






प्रतिक्रिया