हेटौँडा – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । २४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् ।
न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ। यता न्यौपानेले भने आफूमाथि गुटबन्दी भएको प्रतिक्रिया दिएका छन् ।
पार्टीले राष्ट्रिय दलको हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएको उहाँले दाबी गर्नुभयो । विपक्ष दलका उम्मेदवार भेटेको विषयमा उहाँले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेको बताउनु भयो ।
केन्द्रीय कार्यालयमा पठाएको पत्रमा जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ ।






प्रतिक्रिया