अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र लिङ्देनको उदयले पुनर्जीवन पाएको राप्रपा

राजेन्द्र लिङ्देनको उदयले पुनर्जीवन पाएको राप्रपा


काठमाडौँ – दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो । 

तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउन सकेन र एक मात्र सांसदमा खुम्चियो । 

तर, अघिल्लो वर्ष १९ मंसिरमा भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चु्न्यो र कमल थापालाई अस्वीकृत गर्‍यो । अध्यक्षमा पराजित भएपछि उहाँले पार्टी नै परित्याग गर्नुभयाे । थापाले राप्रपा नेपालमा प्रवेश गरेर अध्यक्षको भूमिमा निर्वाह गर्नुभयाे ।

आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिनुभएका थापा पराजित हुनुभयाे । आफ्नै पूर्वकार्यकर्ता राप्रपाका दीपकबहादुर सिंह २७ हजार ८१६ मतसहित विजयी हुँदा थापाले २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहेर पराजय व्यहोर्न पर्याे । सिंहको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिनाले २५ हजार ४३४ मत ल्याउनुभएकाे थियाे । थापाले नेतृत्व गरेको राप्रपा नेपालले आमनिर्वाचन २०७९मा एक सिट पनि जित्न सकेन । 

तर, अघिल्लो वर्ष नेतृत्व परिवर्तन गरेको राप्रपाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पनि सात सिट पाउने भएको छ । राजेन्द्र लिङ्देनप्रतिको आशा र भरोसा र नेतृत्व परिवर्तनले राप्रपाप्रति जनताको विश्वास बढेको राप्रपा तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँनुहुन्छ । 

राप्रपा महाधिवेशनले आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने र राजनीतिमा युवा आउन सक्ने वातावरण रहेको सन्देश दिएको उहाँले बताउनुभयाे । राप्रपा महाधिवेशनले युवा समूहमा राजनीतिप्रति आशा जगाएको मात्र होइन संलग्नताको वातावरण नै रहेको सन्देश दिएकाले नै अहिले नेपाली राजनीतिमा युवा प्रत्यक्ष भूमिका रहने गरी निर्वाचित भएका उहाँको भनाइ छ । 

आफू अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले अग्रज नेतालाई सम्मान गर्दै युवाप्रति विश्वास राख्दै जनतामाझ ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हुने’ बताउँदै आउनुभयाे । संसदमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउनुभएका लिङ्देन अध्यक्ष रहेको राप्रपा अहिले राजनीतिमा निर्णायक शक्तिको रुपमा देखापरेको छ । 

नेतृत्व सम्हालेको एक वर्षमै लिङ्देनले जनतामाझ गुमेको विश्वासलाई फिर्ता ल्याउन सक्नुभयाे ।  पार्टीलाई सक्रिय र क्रियाशील बनाउनुभएका उहाँ यसबीचमा जनतामाझ आफैं उपस्थित भएर पार्टीको नीति तथा आगामी कार्यक्रमबारे प्रष्ट पार्नुभयाे । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कृष्णप्रसाद सिटाैलालाई झापा ३ मा दोस्रोपटक हराएका लिङ्देनले ४० हजार ६६२ मतसहित विजयी बन्नुभयाे।