अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा भारतीय ज्यादतीप्रति सरकार निरीहता कहिलेसम्म ? : रवि लामिछाने

दार्चुलामा भारतीय ज्यादतीप्रति सरकार निरीहता कहिलेसम्म ? : रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गर्नुभएको छ। उहाँले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गर्नुभएको छ ।

महाकाली नदीको वहाव नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको ढुंगाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए । विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कही कतै नदेखिएको बताउनु भयो ।

‘वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

लामिछाने भन्नुहुन्छ, ‘आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन । सरकार अब यसरी चल्नु हुँदैन। यो निरन्तरको निरिहताको अर्थ अब खोज्नुपर्छ ।’