सप्तरी – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका १३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी १७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल १३८ उम्मेदवारको जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाका चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभामा ७० जना र प्रदेश सभामा १०६ जना उम्मेदवार रहेका थिए । चार वटा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र लोसपा, नेकपा एमाले र जसपा तथा जनमत पार्टीका उम्मेदवार बाहेक सबैको जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार रहेकोमा जसपाका नवलकिशोर साह २३ हजार ५६४ मत ल्याएर विजयी हुनुभएको छ । यस क्षेत्रमा जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ र नेपाली कांग्रेसका रामदेव साहले १४ हजार ३१२ मत प्राप्त गर्नुभएको छ । अन्य सबै उम्मेदवारको जमानत नै फिर्ताहुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा ७४ हजार ५०६ मत खसेकोमा चार हजार ३२१ मत बदर भएको थियो ।
क्षेत्र नं २ मा १६ जना उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले ३५ हजार ४७ मतले विजयी हुनुभयो । यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत र लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो। यस क्षेत्रमा तीन जना बाहेक अन्य १३ जनाको जमानत फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र २ मा ६४ हजार २१९ मत खसेकोमा ६० हजार ९२१ मत सदर भएको कार्यालयले जनाएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं ३ मा १८ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार १६६ मतले विजयी हुँदा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय र जनमत पार्टीका अनिस अन्सारीले १५ हजार ११४ मत पाउनु भएको छ। त्यसबाहेक सो क्षेत्रमा १५ जना उम्मेदवारको जमानत जोगिएन । यो क्षेत्र मा ७१ हजार १२२ मत खसेकोमा ६६ हजार ८२० मत सदर भएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४९१ मतले विजयी हुँदा जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत र जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा १६ जना १३ जनाको जमानत जोगिएन । यो क्षेत्रमा ६९ हजार ९३ मत खसेकोमा पाँच हजार एक सय एक मत बदर हुँदा ६३ हजार नौ सय ९२ मत मात्र सदर भएको थियो ।
यसैगरी प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्रका एक सय ६ जना उम्मेदवारमध्ये २६ जनाको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उम्मेदवारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।






प्रतिक्रिया