अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले, कांग्रेस र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

एमाले, कांग्रेस र जसपाले शनिबार समानुपातिक सांसद छान्ने


काठमाडौं – समानुपातिक सांसद चयन गर्न नेकपा एमाले, नेपाली कांग्रेस र जसपाले शनिबार बैठक बोलाएका छन् ।

एमालेको केन्द्रीय सचिवालय, कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।

यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाउनु भएको थियो । तर, अध्यक्ष ओलीको कार्यव्यस्तताका कारण एमाले बैठक आज बस्न सकेन । पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ । एमालेले ३४ सिट पाएको छ । जसमा १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।

यस्तै, शनिबार बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्ने भएको छ। जसपाले समानुपातिकमा पाँचजना पाएको छ ।