काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता अजम्बर काम्बाङ राईले आफू समानुपातिक बन्द सूचीको आदिवासी जनजाति कोटामा १ नम्बरमा रहेर पनि सांसद नबनेकोमा सामाजिक सञ्जालमा व्यंग्यात्मक र भावुक ‘स्टाटस’ पोष्ट गर्नुभएको छ ।
‘तपाईंले मलाई बधाई दिन पाउनु भएन, ठीकै छ,’ काङ्माङले माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गोर्खा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’
गृहजिल्ला भोजपुरमै बसेर सत्ता गठबन्धनका उम्मेदवाहरुलाई जिताउन सक्रिय उहाँ आफू आदिवासी जनजाति पुरुषतर्फ माओवादी केन्द्रबाट पहिलो नम्बरमा रहेकाले समानुपातिक सांसद बन्ने विश्वासमा हुनुहुन्थ्यो । एमाले छाडेदेखि निरन्तर संसदीय राजनीतिमा फर्किन चाहेका उहाँको प्रयास यो पटक पनि विफल भयो । माओवादीले प्रत्यक्षतर्फ भोजपुरमा सुदन किरातीलाई टिकट दियो ।
उहाँले कांग्रेसको पनि मत लिएर चुनाव जितिसकेका छन् । तर गठबन्धनलाई जिताउन ठूलो मिहिनेत गरेका अजम्बर सूचीको पहिलो नम्बरमा रहेर पनि माओवादीबाट पत्याइएनन् । बरु माओवादीले आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी भोजपुरकै दुर्गा राईलाई समानुपातिक सांसद बनाइदियो ।
अजम्बरले लेख्नुभएको स्टाटस जस्ताको तस्तै
क.अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
हार्दिक बधाई !
नेकपा (माओवादी केन्द्र) ले हिंजो निर्वाचन आयोगमा प्रतिनिधिसभा र सात वटै प्रदेशसभाका समानुपातिकतर्फका सदस्यहरूको नामावली बुझायो । निर्धारित समय सीमाभित्र पठाइएका सदस्यहरू कानुनतः निर्वाचित भएको घोषणा आयोगले गर्छ नै । प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको १ नम्बरमा म अजम्बर राई काङ्माङ पनि अटाएकै थिएँ । हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ । पठाइने नामको सूची बनाउन छलफलरत अध्यक्षलाई भेट्दा सांसद बनाइ माग्न आएको भान र दवाव पर्ला भनेर आजभन्दा अगाडि भेट्न गइनँ ।
आज चाहिँ जानैपर्छ भन्ने लाग्यो र क. समर काफ्लेसँग बिहानै खुमलटार गयौं । शालीन र न्यानो भेटघाट भयो र अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यस पटक सांसद बनाउन सकिएन । सानो मन नगर्नुहोला’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनें, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थें ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउँदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ । हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो ।
बालहठझैं मैले मेरा आक्रोश पोख्दै रुँदै कराउँदै गर्नुपर्ने, मैले त्यस्तो नगरी परिपक्व राजनीतिज्ञको रुपमा प्रस्तुत भएँ । ओहो ! नयनाग्नि जस्ता प्रचण्ड चक्षु त नयानाश्रुमा परिणत भइसकेको देखेँ । अब सम्हालिने पालो मेरो थियो । ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन । ठीकै छ । गोर्खा निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएकोमा बधाई छ ।’ बिदाइका कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मुल गेटमा कुन लयमा फर्किसकेछु, फर्किसकेछौं, थाहा भएन । ‘कता जाने अब !’ समर काफ्लेको प्रश्नले झस्किएँ अजम्बरेका तपश्वी जस्ता जोर आँखा पनि कहाँ ओभानो रहेछ छ त ?
मैले भुइँमा फालेको झरझराउँदो आगोको कोइलाले बैठक कक्षको कार्पेट पो सल्किदै छ कि ? हेर्न अनुरोध छ है, यो तस्बिर खिचिदिनु हुने प्रिय साथी रमेश मल्लजी । परिस्थितिले भन्यो, ‘माओवादीमा तेरो सेन्ट अप परीक्षा पाइला पाइलामा अझै छ अजम्बरे !’
मन न हो, भुपाल राई कृत ‘नुमाफुङ’ सिनेमाको गीतांश सम्झें
‘….पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा…..!’






प्रतिक्रिया