काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकमा तरलता सहज हुँदै गएको बताउनुभएको छ। नेपाल बैंकर्स संघको ३६ औँ वार्षिक साधारणसभामा बोल्दै अधिकारीले यस्तो बताएका हुन् । बाहिर यथार्थ कुरा नआएको भए पनि बैंकहरूमा भित्रभित्रै तरलता सहज हुँदै गएको उहाँको भनाइ छ ।
“हिजोसम्मको अन्तरबैंकिङ ब्याजदर ७.०७ प्रतिशत देखिएको छ । यो वर्ष कुनै समय साढे आठ प्रतिशतसम्म पनि यस्तो ब्याजदर पुगेको थियो । यसले के देखाउँछ भने बैंकमा भित्रभित्रै तरलता सहज हुँदै गएको छ,” उहाँले भन्नुभयो, “नभए साढे आठ प्रतिशत पुगेको ब्याजदर किन सात, साँढे सात प्रतिशतमा झथ्र्यो त ? त्यो स्पष्ट छ ।”
पछिल्लो तीन महिनाको राष्ट्र बैंकको तथ्यांकले पनि अर्थतन्त्रमा सुधारको लक्षण देखाएको अधिकारीले बताउनुभयो । बजारमा अहिले ऋणीले थप ऋण पाएनन् भन्ने मात्र कुरा आएकोले यसलाई बैंकर्सहरूले बुझाइ दिनुपर्ने पनि बताउनुभयो । ऋणमाथि ऋण थप्ने संस्कार बसालेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्ने आफ्नो ध्यान रहेको पनि अधिकारीले बताउनुभयो ।
“ऋण लिएपछि ऋणीले ऋण त तिर्नुपर्यो नि । नयाँ ऋणिले पो ऋण पाउनु पर्ला त ? ऋणिलाई झन ऋण थप्नु उचित हैन । थप ऋण लिएर पहिले लिएको ऋणको ब्याज तिर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो, “यस्ता कुरा बैंकर्सहरूले पनि बताइदिनुपर्यो । स्पष्ट छ, ऋणिले ऋण तिर्नुपर्यो । यो त साइकल जस्तो हुनुपर्छ ।”







प्रतिक्रिया