काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाले जानकारी दिनुभयो। शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने उहाँले बताउनुभयो ।
प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु¥याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गरिरहँदा दलहरू पनि आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।
सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा हुनुहुन्छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पार्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट तथा परामर्श गरिरहनुभएको छ ।






प्रतिक्रिया