काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक रुपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि दिल्लीबाट निर्णय हुँदै आएको छ। कृषिमा हामी बारम्बार भनिरहेका छौं–हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ । कारखाना बनाउन भनेपछि मन्त्रीहरु थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर। हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नुपर्ने। देशको स्थिति यस्तो छ।’
भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गर्नुभयो ।
अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।






प्रतिक्रिया