काठमाडौं-नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो ।
साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिनुभयो।उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उहाँहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनुहुने छ भने उहाँहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै हुनुहुन्छ भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।






प्रतिक्रिया