काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षडयन्त्र र बुथ क्याप्चरलाई चिरेर एमाले देशको लोकप्रिय पार्टी बनेको बताउनु भएको छ।
समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित काठमाडौंमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘आगामी दिनमा अझै सफलतामा पुग्ने तयारीकासाथ अघि बढिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘अफवाहको दुष्चक्रबाट यहाँ आइपुग्नु भएको सबैलाई बधाई!’
अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको गतिविधि र चाल जसले जहाँ बाट पनि सुन्न सक्छ। नेपाल बाट मात्रै होइन, अन्यत्रबाट पनि। हामीलाई कसैले टर्च बालेर खोज्नु पर्दैन। सामाजिक न्याय, परिवर्तन र रुपान्तरण कसरी हुन सक्छ भन्ने हामीले सोच्नपर्ने छ।’
अध्यक्ष ओलीले एमालेलाई हराउन राज्य सत्ताको चरम दुरुपयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यसत्ताको चरम दुरुपयोग भएको छ। यसपटक जनताको मताधिकार खोसिएको छ। दुईजना सचेत नागरिकको हत्या भएको छ। लोकतन्त्रमा यो मिल्ने कुरा नै होइन।’
उहाँले मंसिर ४ को निर्वाचनमा केही ठाउँमा ९९ प्रतिशतसम्म मतदान भएको प्रसंग पनि स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालजस्तो देशमा ९९ प्रतिशत भोट हाल्नु, मरेका मान्छेले भोट हाल्नु जस्ता कुराहरु वास्तवमै दु:खद छन् । आगामी दिनमा पनि हामीले अलोकतान्त्रिक र अवान्छित क्रियाकलाप रोक्न सक्नु पर्छ।’






प्रतिक्रिया