अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य सभामुख जबरा

मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य सभामुख जबरा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गर्नुभएको छ ।

बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो ।

त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताउनु भयो।

उहाँले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताउनु भयो। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताउनु भयो । उहाँले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखको भूमिका स्पष्ट छ। तटस्थ हुनुपर्छ। देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनु पर्नेछ। सबैसँग समन्वय गरेर अघि बढ्नेछु। सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु। केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु।’