अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने प्रचण्डको धम्की

प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने प्रचण्डको धम्की


काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने भएको छ।

आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिने संकेत गरेपछि माओवादी केन्द्रले गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो।

राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ नहुने भन्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जाकारी दिनुभयो।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुग्नुभएका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने सन्देश प्रचण्डलाई दिनुभएको थियो।

निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुग्नुभएको हो । यो वार्ता नै गठबन्धनमा बस्ने कि नबस्ने भन्ने मुख्य निर्णायक वार्ता हुनेछ ।

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नपाए प्रतिपक्ष बस्ने बताउनुभयो । आज बिहान फेसबुक स्टाटस लेख्दै नेता सापकोटाले गठबन्धन छोड्ने संकेत गर्नुभएको छ। उहाँले लेख्नुभएको छ,‘विषयलाई सहज बनाऔँ। पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ। नत्र राष्ट्रपतिले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उहाँले चाहेको पनि यही हो। देउवाले गठबन्धन छोडेको हुन्छ।’

चुनावभन्दा पहिला माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको माओवादीका एक नेताले बताउनुभयो । अहिले देउवाले प्रधानमन्त्री प्रचण्डलाई मान्न तयार नभएपछि हामी गठबन्धनमा बस्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो । चुनाव अगाडि जसरी पनि गठबन्धन टिकाएर लैजाने भनेका गठबन्धनका दलहरू अहिले आएर आआफ्नै दाउमा लागेका छन्।