अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवासँग सहमति नजुटेपछि बालुवाटारबाट बाहिरिनुभयो अध्यक्ष प्रचण्ड

देउवासँग सहमति नजुटेपछि बालुवाटारबाट बाहिरिनुभयो अध्यक्ष प्रचण्ड


काठमाडौं – नयाँ सरकारको नेतृत्वका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति नजुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ।

राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी हुँदा सत्तारुढ दलहरु पद बाँडफाँटसहित सहमति प्रयासमा छन्। 

प्रधानमन्त्री लिनै पर्ने अडानमा रहेको माओवादी केन्द्रलाई कांग्रेसले उक्त पद र राष्ट्रपति छाड्न नसकिने बताएको छ। स्रोतका अनुसार आइतवार पनि कांग्रेस सभापति देउवाले दुवै पद अरुलाई दिन नसक्ने अडान लिनुभएको छ । प्रचण्ड बाहिरिएपछि अहिले दोस्रो तहका नेता बालुवाटारमै संवादमा हुनुहुन्छ ।

सत्ता गठबन्धनमा पहिलो कार्यकाल कसले प्रधानमन्त्रीको नेतृत्व लिने भन्ने विवाद छ। माओवादीले कांग्रेस सभापति देउवाले आफ्नो समर्थनमा डेढ वर्ष सरकार चलाएकाले अब आफ्नो पालो भएको अडान राखेको छ।

उता देउवा पहिलो कार्यकाल आफैं चलाउने अडानमा यथावत छ। अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अन्तिम एक वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने मत राख्नुभएको छ ।