अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डजीको व्यवहारबाट म दुखित छु : माधव नेपाल

प्रचण्डजीको व्यवहारबाट म दुखित छु : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारबाट दुखित भएको बताउनु भएको छ।

पार्टी कार्यालयमा आज आयोजित सुदूरपश्चिमबाट निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीलाई जानकारी नदिई प्रचण्डजी अरुको समर्थनमा प्रधानमन्त्री हुनुभयो । हामीलाई थाहा छैन। पत्रिकामा फोटो देखेर हामीले थाहा पाएका हौं। हामीलाई बोलाइदिनुपर्‍यो भन्दै कुद्नुपर्थ्यो कि ! हामीलाई पनि सामेल गर्देउ भन्दै जानुपर्ने हो कि ? प्रचण्डजीको यो व्यवहारबाट म दुखित छु।’

उहाँले प्रचण्डले शेरबहादुर देउवासँग एक्लै गएर प्रधानमन्त्री लिने कुरा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले नै प्रचण्डलाई अघि सर्नुपर्छ भनेको हो। तर शेरबहादुरजीसँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा ल्याउनुभयो। सुटुक्क जाने खुसुखुसु कुरा गर्ने गर्नुभयो। म कड्किएँ र सिंगो प्याकेजमा कुरा गर्नुपर्छ भनेँ।’

बालुवाटारमा आफू र केपी ओलीसँग बसेर नयाँ ढंगले कुरा गरौँ भनेर प्रस्ताव गरेका प्रचण्ड पछि एक्लै बालकोट गएको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘बालुवाटारमा मलाई प्रचण्डजीले तपाईँ  म र केपी शर्मा ओली छुट्टै बसौं र नयाँ ढंगले कुरा गरेर अगाडि बढौं भन्नुभयो, मैले हुन्छ भनेर पार्टी अफिसमा आएँ र तुरुन्तै बैठक बोलाएँ। अरु नेताहरुलाई फोन गरेँ। तर प्रचण्डजी त बालकोट पुगेर हस्ताक्षर गरिसक्नुभएछ।’