अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालन गर्ने तयारी

बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालन गर्ने तयारी


झापा-बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणाधीन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गतेदेखि नयाँ भवनमा १५ बेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो ।

अस्पताल नयाँ भवनमा सरेसँगै सेवा पनि थप हुनेछन् । यहाँबाट स्वास्थ्य बीमा, दैनिक ओपीडि, उच्चस्तरीय प्रविधियुक्त ल्याब, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इमर्जेन्सी सेवा सञ्चालन गर्ने गरी काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । उहाँले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा ६ थान मेशिन समेत प्राप्त भएको जानकारी दिनुभयो ।

नगरपालिकाले कानुनी संरचना तयार पारेर नगर अस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहिदिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह १ जना, मेडिकल अधिकृत आठौँ  तह २ जना, ल्याब टेक्नोलोजिष्ट सातौँ तह १ जना  र रेडियोग्राफर पाचौँ तह १ जना माग गरिएको छ । 

अस्पतालका लागि आवश्यक उपकरणहरू स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हातहरूबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । उहाँले यस अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि निजी अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताउनु भयो ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टिका विषयहरूलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्धि गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगर अस्पतालको निर्माणाधीन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिनु भएको थियो । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रा.लिले ५ करोड, ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।