काठमाडौं -सरकारका प्रवक्ता उपप्रधानमन्त्रीहरु विष्णु पौडेल,नारायणकाजी श्रेष्ठ कि रवि लामिछाने ? सरकार गठन भएको साँझ केहीबेर सञ्चारमाध्यमहरु अन्यौलमा परे । सबैले आफ्नो अनुकुल प्रवक्ता तोकेर मन्त्रिपरिषदका निर्णय सावर्जनिक गरे ।
पुष ११ गते एमाले नेतृत्वको गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथग्रहण पछि आफ्नो सात सदस्यीय मन्त्रिपरिषदको बैठक सिंहदरबारमा आयोजना गर्नुभयो । बैठकमा विभिन्न मन्त्रालयबाट ल्याइएका विभिन्न एजेण्डामा छलफल भयो । प्रधानमन्त्री देखि मन्त्रीसम्म सबै उत्साहित थिए । तर उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘मुड अफ’ हुनुहुन्थ्यो । क्याबिनेट छलफल चलिरँहदा पनि उहाँ मोवाइल खेलाएर बस्नु भएको थियो । एक मन्त्रीका अनुसार नारायणकाजीको यो अवस्था देखेपछि प्रधानमन्त्री प्रचण्डले ‘बिरामी हुनुहुन्छ कि के हो ?’ भनेर नारायणकाजीलाई प्रश्न गर्नुभयो । उहाँले हैन भन्ने संक्षिप्त उत्तर दिनुभयो ।
बैठक सकियो । प्रधानमन्त्रीले उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजीतिर संकेत गर्दै भन्नुभयो ‘अहिलेलाई प्रवक्ताको भूमिका तपाईं निर्वाह गर्नुहोस ।’ नारायणकाजीले प्रधानमन्त्रीको प्रस्ताव अस्विकार गर्दै रविजीलाई राख्नुहोस भनेर प्रतिवाद गर्नुभयो । रविले आफू प्रवक्ता नबस्ने भन्दै उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलाई राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रवक्ता को बस्ने भनेर फालाफाल भएपछि मूख्यसचिव शंकर बैरागीले पौडेल बस्दा नै ठिक होला भनेर भन्नुभयो । ‘त्यसपछि प्रधानमन्त्रीले ल अर्को व्यवस्था नभएसम्म विष्णुजीले नै प्रवक्ताको भूमिका निर्वाह गर्नुहोस न त । अनुभव पनि छ । मिडियासँग डिल गर्नुपर्छ भनेर भन्नुभयो ’ एक मन्त्रीले यो बेलासँग भन्नुभयो ।
सधैं हसिलो मुहारमा देखिने नारायणकाजी उपप्रधानमन्त्री भएकै दिन किन मुड अफ देखिए होलान् ? अझ क्याबिनेटमा पनि कुनै चासो नराखेजसरी अलमलिएर बस्नुको कारण के होला ? खासमा नारयणकाजीलाई गृहमन्त्री हुने इच्छा धेरै पुरानो हो । यस पटक पनि उहाँको जोडबल गृहमन्त्री हुने मा नै थियो । तर रविको पार्टीले गृहमा अडान नछोडेपछि माओवादी पछि सर्नु परेको हो । गृह लिनलाई एमालेले पनि निकै जोड गरेको थियो । त्यसका आकांक्षी स्वयं विष्णु पौडेल हुनुहुन्थ्यो । ‘तर सरकारमा आउँदा आउँदै रविलाई असन्तुष्ट पारे बीचैमा सरकार छोड्न सक्ने कारणले उनको मागलाई सम्बोधन गर्नु एमाले माओवादीको बाध्यता थियो’ एमालेका एक नेता भन्छन् ‘जसले गर्दा प्रचण्डले नारायणकाजीलाई भन्दा गृहमा रविलाई प्राथमिकतामा राखेका हुन् ।’
नारायणकाजीले नेकपाकालमा पनि बरियाता विवाद देखाउँदै केही समय प्रवक्रा पद अस्विकार गर्नुभएको थियो ।






प्रतिक्रिया