काठमाडौं – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं नेपाल सरकारका नवनियुक्त मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले राष्ट्रसेवक सबै कर्मचारीको समस्याहरु समाधान गर्न प्रयास गर्ने वताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति,काठमाडौंले आज बिहीवार नेपाल सरकारका मन्त्रीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा उहाँले उक्त कुरा वताउनु भएको हो।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उक्त कार्यक्रममा उहाँले निजामती संगठनमा आवद्ध चालीस हजार सदस्यलाई मात्र नभएर समग्र राष्ट्रसेवक कर्मचारीको हकहितमा काम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले आफूहरु नयाँ जनादेशबाट निर्वाचित भएर आएको र देशलाई नयाँ गतिमा डोर्याउने संकल्प रहेको उल्लेख गर्नुभयो। मन्त्री भण्डारीले कर्मचारीपनि सरकारकै अंग भएकोले देश र जनताको हितमा काम गर्न सबैलाई अपिल गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले निजामती एनलाई छिटोभन्दा छिटो पारित गरेर कर्मचारीहरुको समस्याहरु सम्बोधन गरिदिन नवनियुक्त मन्त्रीहरुलाई अपिल गर्नुभयो। उक्त अवसरमा अर्का नवनियुक्त मन्त्री राजेन्द्र कुमार राईले पनि आफ्ना मन्तव्यहरु राख्नुभएको थियो।






प्रतिक्रिया