अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको निर्देशनपछि निर्मला बलात्कार र हत्या काण्डको छानविनका लागि डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानविन समिती

गृहमन्त्रीको निर्देशनपछि निर्मला बलात्कार र हत्या काण्डको छानविनका लागि डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानविन समिती


काठमाडौं -उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेको निर्देशनपछि बहुचर्चित निर्मला बलात्कार हत्याकाण्डको पुन छानविन हुने भएको छ । चार वर्ष अघि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले डिआइजी दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

समितिमा सीआईबीकै प्रहरी एसपी कमल थापा, इन्स्पेक्टर धीरेन्द्र रोकायासहित चिकित्सक पनि रहेका छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिनुभएको थियो ।

२०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।