पौने शताव्दीको मात्र स्वतन्त्रताको अभ्यास गरेको भारतमा कम्युनिष्ट पार्टीको इतिहास भने त्यो भन्दा लामो पाईन्छ । सन् १९४७ अगष्ट १५ मा बेलायती साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भएको भारतमा भुगोल मात्र होईन नागरिक पनि स्वतन्त्र हुनु पर्छ भन्दै त्यो भन्दा दशकौं अघि देखि कम्युनिष्टहरु सल्बलाएका थिए ।
विश्वमानै चुनावी प्रतिष्पर्धाबाट सरकारमा कम्युनिष्टहरु पुगेको इतिहास पनि भारतमै पाईन्छ । सन् १९५७ मा भारतको केरलामा ईएमएस नम्बुदिरीपादको नेतृत्वमा प्रान्तीय सरकार बनेको थियो । तर यो सरकार केन्द्रिय सरकार चाँहि थिएन, प्रान्तीय सरकार थियो । कम्युनिष्टहरुको यस्तो जव्वर इतिहास रहेको भारत र भारतमा पनि करिव साढे ३ दशक शासन गरेको पश्चिम बंगालको राजधानी कलकत्ता पुग्दा त्यहाँको कम्युनिष्ट राजनीतिको इतिहास र अहिलेको निम्छरो अस्तित्व वचाउ विचको विरोधाभाषपूर्ण अवस्था बुझ्न मन परेको थियो । तर बताउने कोहि भेटिएन् । तथ्य र तथ्याङ्क आँफैले खोज्नु परे पनि सन् २०२२ को अन्तिम महिना पश्चिम बंगालका ‘केहि भुँई मान्छेहरु’सँगको संवादले धेरै अनुमानको पर्दा भने उघारि दियो ।
गरिव आदमीको चमच क्युँ चाता है
पश्चिम बंगालको राजधानी कलकत्तामा विगत वर्षहरु देखिनै हुँदै आएको हिमालयन ओरेन्ज टुरिजम फेष्टिबलमा सहभागी हुन हामी पनि पुगेका थियौं, लगिएको थियो । हामी केहि सञ्चारकर्मीहरु बिमल लामिछाने, गिरीराज भट्टराई, विष्णु पोख्रेल र म समेतको टोली पहिलो पटक पुगेको कलकत्ता घुम्न लगातार ४ दिन डुल्यौं । खासगरि मलाई चाँहि कम्युनिष्टहरुको गढ, नेपाली कम्युनिष्ट स्थापनाको भुमि र साढे ३ दशक कम्युनिष्टले शासन गरेर ध्वस्त भएको कम्युनिष्ट पार्टीको बारेमा थाह पाउन मन थियो । तर यहि शिर्षक राखेर औपचारीक रुपमा कोहिसँग पनि कुरा गर्ने मौका मिलेन । तर केहि ‘भुँई मान्छे’सँग भएका संवाद निक्कै रोचक लाग्यो

१) कलकत्ताको विल्डिङ्मोड देखि केहि दक्षिण हामी चार जना एउटा ठेलामा विहानको नास्ता गर्न पुग्यौं । पत्रिकाको टुक्रामा पुरी अनि त्यसै माथि आलु–चनाको तरकारी । झोल सहितको तरकारीले पत्रिका ल्याफ्फै थियो, अनि तातो पनि भएकाले खान गाह्रो भयो । विष्णुजीले चम्चा माग्नु भयो । पसलेले भन्यो–‘चमच उमच चाहने वालो तो रेष्टुरेन्टमे जाना पडेगा ना, यि दूकान गरिव आदमीके लिए हैं । यहाँ कोहि अमिर लोग पुडी खानेके नै आया । गरिव आदमीको चमच क्युँ चाता है ? खाओ हाथोँ से ।’
२) अर्को दिन, सियालदलको एउटा होटलमा खाना खाँदै थियौं । त्यो अघिल्लो दिन नास्ता खाए जस्तो ठेला वा फुटपाथ थिएन, होटलनै थियो । मलाई दही खाउँ लाग्यो । मागेँ । पसलेले केहि वेर पर्खनु भन्ने सुझाव दिएँ । म पर्खिरहेँ, केहि वेर पछि खोजे जस्तो अर्थात खानामा हाल्ने दहि त होईन हण्डिमा जमाएको मिठाई जस्तो दहि दिए । खाईयो । अनि मैले खानाको चामल तर्फ संकेत गरेर भने–‘साहुजी, यहाँका सव होटलमेक्यूँ मोटा मोटा चामल केचावल बनाथा, कोहि मसिना चामल नै मिला ?’ उसले हल्ला रुपमा भन्यो–‘ये कलकत्ता हेन, सव कुछ मिलेगा ।’ फेरि मैले भने–‘ ‘लेकिन सव होटलमे ऐसे मोटा चावलही क्यूँ मिलेगा ?’ उसले ठेलावालाको झै उत्तर दियो–‘दही, मसिना चावल खाना के लिए तो रेष्टुरेन्ट, स्टार होटल जाना पडेगा ना, ऐसा गरिव वालोँके होटलमे सव मेजमानी कैसे मिलेगा ?’ उसले त्यति भने पछि फेरि चम्चा माग्ने हिम्मत गरिएन ।
ओ हो, अचम्म लाग्यो । समाजवादी राज्य व्यवस्थाको दुहाई दिने ३४ वर्षको कम्युनिष्ट शासन ढलेको एक दशक भई सक्दा पनि यस्तो अवस्था ? गरिवको पसलमा धनी आउँदै नआउने र गरिवले टुलमा बसेर, चम्चाले टिपेर खानै नहुने ढोँग यति बलियो अझै सम्म ? यो समाजवादको अवशेष हो कि विभेदको पहाड ? थाह पाउन सकिएन ।३) अर्को एक दिन टेम्पो ड्राईभरसँग कुरा हुँदा उसले भनेको पनि सम्झिँए–‘३० वर्षमा यहाँ कम्युनिष्टहरु चुसेर खाए मात्र जनतालाई केहि दिएनन् । अहिले दिदी (ममता वनर्जी) आए पछि सव ठिक भएको छ । सस्तोमा कार पनि पाईन्छ । अचम्म लाग्यो, किन कम्युनिष्ट शासकहरु गरिव–श्रमिक–सर्वहाराहरुमा पनि यति विध्न वितृष्णा जाग्ने गरि घिनाउँदा भएर सकिए ?
४) आउने दिन भई सकेको थियो । कलकत्ताका सडकहरुमा आएकै दिन देखि देखिएकै हो मान्छेलाई रिक्सामा चढाएर मान्छेलेनै तान्ने रिक्सा । केहि पुराना भारतीय चलचित्रहरु र फोटाहरुमा पनि यस्ता रिक्सा देखिएकै हो । तर विद्युतबाट द्रुत गतिमा चल्ने भुमिगत अनि आकाशे रेलको उपयोग भई रहेको, सडकमै पनि विद्युत वा तेलबाट चल्ने रिक्सा सर्वसुलभ भएको, मानिसकै श्रमले तर केहि सहज गरि पाईडल घुमाएर चल्ने रिक्सा पनि चलिरहेको कलकत्तामा एकसरो लुङ्गी मात्र लगाएका, छाला चाउरी सकेका, ढाड खुईलिई सकेका श्रमिकहरुले पसिनाको आहालमा चोवलिँदै तान्ने यस प्रकारको रिक्सा किन नहटेको होला ? कौतुहलता थियो । धर्मतोला बजारमा थियौं हामी, बिष्णुजी र गिरीराजजी झोला किन्न गए । बिमलजी कपडा । मेरै छेवैमा अघिनै देखि यात्रु पर्खिरहेको करिव करिव वृद्ध अवस्थाका मजदुरलाई डराई डराई सोधेँ–‘यति धेरै मेहनत गर्नु पर्ने रिक्सा किन चलाएको र मान्छेहरु किन यसमा चढ्छन् ।’ उनले छोटकरीमा जवाफ दिए–‘हमरा लिए नसिव, अमिरके लिए शान–शौकत हे यि ।’
ओहो, अझै पनि संसारबाटै विस्थपित भएको जोखिम र कठिन शैलीको श्रम गरेर मात्र दुई गाँस खान पाउनु गरिवका लागि भाग्य ठान्छ यो समृद्ध कलकत्ता अनि अरु विकल्प हुँदा हुँदै गरिवका काधमा चढेर शहर सयर गर्नुलाई सम्पन्नता ठान्छ यो कलकत्ता ।
अनि एउटा अर्को दृश्य पनि देखियो सडकमा । एउटा व्यक्ति एकहातमा मोवाईल हेर्दै थियो, अर्को हातमा चुरोटको ठुटो धुँवाउँदै । घुँडा मारेर बसेका जुत्ता सिलाउने मजदुरको एउटा घुँडामा उसले जुत्ता लगाएको खुट्टाले टेकको अनि मजदुर चाँहि आफ्नो घुँडामा त्यो कथित सम्पन्नको खुट्टैमा रहेको जुत्ता घोटेर चम्काई रहेको । मैले हिँड्दा हिँड्दै गिरीराजजीलाई भने–‘हेर्नु न त्यो मान्छेको सान । कम्तिमा जुत्ता त खोलेर दिन सकिन्छ नि ।’ फटाफट हिँड्दा हिँड्दै उहाँले भन्नुभयो–‘यहाँ पैसा भए मानिसले अरु केहि सोच्दैन हौ, दुनियै यस्तै हो क्या ।’
भारतमा कम्युनिष्ट
भारतको कम्युनिष्ट इतिहास सन् १९२० अक्टोवर १७ मा तुर्किस्तानको तासकन्द भेलाबाट घोषणा भएको पार्टीलाई आधार मान्ने हो भने एक शताव्दी भन्दा लामो भयो । तर भारतीय जनआजादीका लागि गान्धी लाईन लिने की लेनीन लाईन भनेर छलफल हुँदा लेनीन लाईनै उपयुक्त ठहर गरेको कानपुर भेलाले भने सन् १९२५ डिसेम्वर २६ मा कम्युनिष्ट पार्टीको स्थापना घोषणा ग¥यो । उसले अघिल्लो तासकन्द भेलालाई समुह मात्र मात्र भन्यो । यो विवाद् भारतीय कम्युनिष्टहरुमा बारम्बार उठ्ने गरेको छ । कतिसम्म भने, स्थापनाको मिति कुनलाई मान्ने भन्ने विवाद्ले नै पार्टी विभाजनको शुरुवात पनि भएको भनिन्छ ।

अनि विशाल भारतमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा बंगाल भूमीको ठुलो योगदान छ । मानवेन्द्र रोय नाम गरेका एक युवा पहिलो विश्वयुद्धकै बेला जर्मनीको साथ लिएर बेलायतलाई हटाउन सकिन्छ भन्ने लक्ष्यमा थिए । बेलायत विरुद्ध साथ खोज्दै बंगालबाट जर्मनी, जर्मनीबाट अमेरीका र अमेरीकाबाट मेक्सिको पुगे । समाजवादी मेक्सिकोका राष्ट्रपति भोनोष्टिया र अक्टोवर क्रान्ति सकेका लेनीन विचको दोस्ती भारतमा कम्युनिष्ट संगठन विस्तारमा एकमत थियो । नजिकै आएको रुसी सम्मेलनमा भारतको प्रतिनिधीको रुपमा राष्ट्रपति भोनोष्टियाको सिफारिसमा परे मानवेन्द्र । उनी रुस पुगे र लेनीनको संगत पाए । रूसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९१९ मा लेनिनले विश्वका कम्युनिष्ट पार्टीहरूबीच मोर्चा बनाउने उद्देश्यले कम्युनिष्ट इन्टरनेशनल अर्थात कोमिन्टर्न गठन गरेका थिए । रोय पनि त्यसको सदस्य बन्न पुगे । त्यसैको प्रभाव स्वरुप सन् १९२० मा तासकन्भ भेला भयो । तर यसलाई भारतमा रहेका कम्युनिष्टहरुले पार्टी घोषणा स्विकारेनन् र ५ वर्ष पछि अमृत डाँगे लगायतले कानपुर प्लेनमबाट पार्टी र क्रान्तिको विगुल फुके ।
बसू र बंगाल
कम्युनिष्ट राजनीतिमा भने पश्चिम बंगाल एउटा बलियो किल्लाको रुपमा स्थापित थियो । सन् १९६४ मा पार्टी विभाजन पछि भाकपा माक्र्सवादी बन्यो । नेता थिए ज्योती बसू । त्यस लगत्तै फेरि माक्र्सवादी भित्र पनि माओवाद विचारधाराको विकास हुँदा सिलगुढीका चारु मुजुमदारहरु सन् १९६७ मा अलग भए । उनीहरु सशष्त्र क्रान्तिको बाटोमा लागे । बसूहरु शान्तिपूर्ण आन्दोलन र चुनावी प्रतिष्पर्धा स्विकार्ने अवस्थामा आए ।
खासमा बसू राजनीतिक पृष्ठभूमीका थिएनन् । एउटा डाक्टरको छोरा, सुख र सुविधा पाएकै थिए । त्यसैले उनी अध्ययन्कै लागि विदेश गएका थिए । सन् १९३५ मा, बसु कानून विषयमा उच्च शिक्षाको लागि इङ्ल्यान्ड पुगेका बेला ग्रेट ब्रिटेनको कम्युनिस्ट पार्टीसँग सम्पर्कमा पुगे पछि चाँहि राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । सन् १९४० मा भारत फर्किए पछि मजदुरहरुका विचमा काम गर्दा गर्दै र रजनीपाम दत्तको दर्शनबाट प्रभावित हुँदै राजनीतिमा प्रवेश गरेको पाईन्छ । उनले भाकपाका सिद्धार्थ शंकर राय नेतृत्वको सरकारलाई विस्थापित गर्दै बलियो कम्युनिष्ट सरकार बनाए । अनि उनै बसूले पश्चिम बंगाललाई कम्युनिष्टहरुको किल्ला मात्र बनाएनन् आफु पनि भारतकै शक्तिशाली मुख्यमन्त्रीको रुपमा सवै भन्दा लामो समय शासन गर्ने शासकको रुपमा दर्ज भए ।
उनले सन् १९७७ देखि सन् २००० सम्म पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्री भएर भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्रीको कीर्तिमान स्थापित गरेका थिए । २३ वर्ष १ सय ७७ दिन उनी मात्र शासक बने । उनको पार्टीले त ३४ वर्ष राज ग¥यो । तर त्यहि पश्चिम बंगालमा अहिले कम्युनिष्ट कोमाको विरामी ‘छ कि छैन’ जस्तो अवस्थामा पुगेको छ ।
भट्टाचार्य पछि भग्नावशेष
बसूको उत्तराधिकारीको रुपमा भाकपा माक्र्सवादीकै बुद्धदेव भट्टाचार्य शासनमा आए । २००० को नोभेम्बर ६ देखि २०११ को मे ३ सम्म उनले पश्चिम बंगालमा शासन गरे । तर उनका कारण सरकार त कमजोर हुँदै गएको थियो नै, उनी आँफै पार्टी भित्र थप कमजोर बनिसकेका थिए । २४ वर्ष विधायक रहेका उनलाई आफ्नै सरकारका पूर्व मुख्य सचिव मनिष गुप्ताले चुनावमा हराएका थिए । उनी यस्तो कमजोर इतिहास लिएर विस्थापित भए की प्रफुल्ल चन्द्र सेन पछि बिधानसभामा पराजीत हुने बहालवाला दोश्रो मुख्यमन्त्रीका रुपमा दर्ज भए । ११ वर्ष सम्म शासन गर्दा उनले आफुलाई मात्र विस्थापनको अवस्थामा पु¥याएनन्, करिव करिव कम्युनिष्ट पार्टीनै संसदीय अभ्यासबाट विसर्जनको घाटमा लगि दिए ।
२०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव भग्नावेश र खण्डर बन्दै गएको छ । अझ सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा भारतीय जनता पार्टी छिरे संगै कम्युनिष्ट थप ओह्रालो लाग्दै गएको छ । भारतमा कम्युनिष्ट विचारधाराको विज रोपिएको पश्चिम वंगालमा सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो ।

ममताले भत्काएको गढ
३४ वर्ष सम्म जरा गाढेर बसेको कम्युनिष्ट शासनलाई भत्काउन २०११ मा ममता बनर्जीनै आई पुग्नु प¥यो । ०११ को १३ मे मा आएको चुनावी परिणाम अनुसार उनको पार्टी त्रिणमूल कांग्रेसले १८४ सिट प्राप्त गरि कम्युनिष्ट किल्ला मात्र भत्काएन उनी आँफैले पनि इतिहास रचिन, पश्चिम बंगालको ११ औं र पहिलो महिला मुख्यमन्त्रीको रुपमा । संघीय सरकारमा लालूप्रसाद यादव पछि रेल मन्त्री भएर प्रभावशाली छवि बनाएकी उनी भारतीय कांग्रेसबाट अलग भएर आफ्नो अलग्गै पार्टी र आफुलाई समेत थप शक्तिशाली रुपमा स्थापित गर्न सफल भएकी छन् । सन् २०११ को मे २० देखि लगातार शासनमा रहेकी उनको प्रभाव पश्चिम बंगाल भरि ‘दीदी’ को रुपमा स्थापित भएको छ ।





प्रतिक्रिया