अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ किलोमिटरकै गाडी भाडा साढे पाँच सय रुपैयाँ !

१५ किलोमिटरकै गाडी भाडा साढे पाँच सय रुपैयाँ !


बझाङ – खप्तडछान्ना गाउँपालिका-५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ। कालुखेतीबाट नजिकको बजार तमैल नै हो। 

कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जिप जाँदा आधा घण्टा समय लाग्छ। त्यो दूरीमा जिप व्यवसायीले भने रु. ३५० असुलिरहेका छन्।

“सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्ननुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ। हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?”

उहाँका अनुसार छान्नामा जिप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन्।

“कति दिन तमैल बजारमै थुप्रो जिप भएर पनि हिँडेर गइयो”, उहाँले भन्नुभयो, “जिप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जिप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन्।” 

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो।

“प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, “त्यो बेलामा कालुखेतीबाट रु १२० मै तमैल पुग्थ्यौँ। पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे। पालिकाले कुनै सुनुवाइ गरेन।”

उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन।

“कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ। त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन्”, उहाँले भन्नुभयो।

गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन्, “घर आएको बेला गाडी चालकसँग झगडा नै भयो। रुट परमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो। पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ।”

उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जिप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जिप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ। १० मिनेटको बाटोमा गाडी चढे पनि रु सयभन्दा बढी असुल्छन्।”

यता जिप व्यवसायी हेमराज थापा जिप भाडा अलि बढी नै भएको स्वीकार्छन्। 

उहाँ भन्नुहुन्छ, “जिपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ।”

सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँले बताउनु भयो ।

“गाडी भाडाको विषयमा हामी जिप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ। गाडी छान्नामा दुई/तीन ठाउँमै खोलामा हाल्नुपर्छ। खोलामा हाल्दा हप्तामै रु आठ/दश हजारका टायर फेर्नुपर्छ। त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ”, उहाँले भन्नुभयो ।

थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जिप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो।

“सबैले हामीलाई मात्रै दोष दिन्छन्। यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जिप गुडाउनुपर्छ”, उहाँले भन्नुभयो । 

अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउँछन्।

“हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ। उताबाट पत्र आएको छैन। त्यसपछि जिप भाडामा एकरूपता हुन्छ”, उहाँले भन्नुभयो ।  

प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ।

“गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जिप भाडा निर्धारण गर्न सकिएको थिएन। अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ”, उहाँले भन्नुभयो ।

सडकलाई दिगो रूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उहाँले बताउनु भयो । अहिले छान्नामा मात्रै डेढ दर्जन जिप सञ्चालनमा छन्। गाडी भाडा बढी भएकै कारण व्यवसायीले जिप थप्दै गरेको स्थानीयको बुझाइ छ। – रासस