अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती


गुल्मी – गुल्मीमा एक दम्पतीले रु.६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेको छ। छत्रकोट गाउँपालिका-३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका हुन्। पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेको छ। 

पन्थ दम्पतीले ४० माउ बाख्रा पालेको छ। उहाँहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गरेका छन्। विदेश गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताउनु भयो ।

विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको हो। घाँस र सुन्तला खेतीबाट वार्षिक रु छ लाख आम्दानी भइरहेको नारायणप्रसाद बताउनु हुन्छ।

पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गरेको छ। ‘घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय बितेको पत्तै नलाग्दो रहेछ’, उहाँले भन्नुभयो। यसअघि कतारमा मासिक रु एक लाख २० हजारसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ। त्यो सबै त्यागेर उनले गाउँघरमै व्यवसाय सुरु गरेका हुन्।

श्रीमान्‌ले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट हुनुहुन्छ। श्रीमान्‌को १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उहाँको भनाइ छ। आधुनिक खोर, घाँस काट्न च्याँपकटर, दानाका लागि कुटानी-पिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिएको छ। उहाँहरुसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन्।

फार्मलाई छत्रकोट गाउँपालिकाले रु दुई लाख, कृषि ज्ञान केन्द्रले रु एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले रु एक लाख अनुदान सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताए। छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको बताउनु भयो । रासस