बाँके-बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो।
ति शिशुमा ज्वरो आउने, शरिरका विभिन्न भागमा राता-राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो ।
शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । ती शिशुमा दादुराको लक्षण देखा परेको उहाँले बताउनुभयो ।
सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।
नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन ।





प्रतिक्रिया