अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हूलका हूल हात्ती गाउँ पस्न थालेपछि…

हूलका हूल हात्ती गाउँ पस्न थालेपछि…


काठमाडौं – धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ पस्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन्। 

दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ पस्न थालेपछि गाउँले त्रसित छन्। हात्ती नडाहाको जङ्गलमा दिनभरि बस्ने र साँझ परेपछि बस्ती पस्नेगरी बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताउनु भयो ।

‘साँझ परेपछि हात्तीको बथान गाउँ पस्ने गरेको छ। स्थानीयले लगाएका फलफूल, केरालगायतका अन्यबाली नोक्सान पुर्‍याउने गरेका छन्”, भरौलबासी नीरकुमार कार्कीले भन्नुभयो, ‘साँझ परेपछि हात्ती धपाउन मानिसहरु तयार हुनुपर्छ। जङ्गल नजिक घर हुने रातभर निदाउन पाउदैनन्।’

पन्ध्र दिन अघिदेखि हरेक राति हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ पस्ने गरेको छ। हात्तीले मानिसलाई नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर बस्ने गरेका छन्। 

एक दिन अठ्ठाइसवटा हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताउनु भयो । बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरियाबीच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिइरहेका छन्। हात्तीले वडा नं ३ मा दुई वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताउनु भयो । बाक्लो बस्ती भएको यो क्षेत्र जङ्गलसँग जोडिएको छ। वडा नं १, २, ३ र ५ जङ्गलसँग जोडिएका घनाबस्ती पर्छ। 

कार्कीले नडाहा क्षेत्रको कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले हात्ती आएपछि साइरन बजाएर खेद्ने गरेका छन्। स्थानीय, जनपथ प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताउनु भयो । हात्तीले क्षति पुर्‍याएका घरधनीलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।