काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित समय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाउनु भएको हो ।
अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने प्रजिअ उपाध्यायले बताउनु भयो । उहाँका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ ।
त्यस्तै शुक्रबार बाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ ।
‘प्रशासनबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन १० वटा सेवामा टाइमकार्ड लागू गरेका छौं । बिहीबारबाटै यसलाई कार्यान्वयनमा लगेका छौं,’ प्रजिअ उपाध्यायले भन्नुभयो, ‘यसले सेवा लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएको छ । अब तोकिएका आवश्यक कागजात लिएर आएका सेवाग्राही कसैले पनि अनावश्यक समय पर्खनुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने छैन । यसले सेवाग्राहीको समय मात्रै बचत गरेको छैन । अनावश्यक रुपमा हुने बिचौलियाको घुसपैठ र चलखेललाई पनि रोक्ने हाम्रो अपेक्षा छ ।’
प्रतिक्रिया