अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि स्वस्थानी व्रत र माधवनारायण मेला सुरु

आजदेखि स्वस्थानी व्रत र माधवनारायण मेला सुरु


काठमाडौं-हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरु भएको छ।

माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी  व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ। त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्। आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ।