काठमाडौं -सत्तापक्षको गठबन्धनले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम शिर्ष नेताहरुले सार्वजनिक गर्नु अघि नै मिडियामा पूर्ण अंश प्रकाशित भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदलले आज साँझ साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।
‘कार्यदलले तयार गरेको कार्यक्रमको स्वरुप आफ्ना आफ्ना पार्टीका शिर्ष नेतालाई देखाउने त्यसमा उहाँहरुका सुझाव समेटेर भोली सार्वजनिक गर्ने कार्यक्रम थियो’ एमालेका एक पदाधिकारी भन्छन् ‘शिर्ष नेताले नै न्यूनतम साझ कार्यक्रमको ड्राफ्ट मिडियाबाट हेर्न पाए ।’
आफूले औपचारिक च्यानलबाट न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट पाउनु अघि नै मिडियामा त्यसको ‘पूर्ण पाठ’ देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री पौडेलसँग कसरी न्यूनतम साझा कार्यक्रम बाहिरियो भनेर जिज्ञासा राख्नु भएको छ । कार्यदलमा एमालेबाट पौडेल,नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन,राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.मुकुल ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणा,जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ हुनुहुन्छ ।
न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट नै बाहिरिएपछि शिर्ष नेताहरुले यसमा असन्तुष्टी जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले पनि औपचारिक रुपबाट न्यूनतम साझा कार्यक्रम टुंगो लाग्नु अघि नै कसरी मिडियामा छ्याप्छ्याप्ती भयो भनेर जिज्ञासा राख्नु भएको छ । ‘गोपनियता पालना हुन नसक्नु ठूलो त्रुटी भएको’ भन्दै प्रधानमन्त्रीले असन्तुष्टी जनाएको बालुवाटार स्रोतले जनाएको छ ।
‘यस्ता दस्तावेज सार्वजनिक हुनु अघि यसका सार,केही कार्यक्रमका नाम सार्वजनिक गरेर आम जनताको ध्यान तान्न खोज्ने चलन त हुन्छ तर औपचारिक रुपमा सावर्जनिक गर्नु अघि नै यसरी छ्याप्छ्याप्ती बाहिर पठाउनु राम्रो भएन’ माओवादीका एक नेताले भने ।






प्रतिक्रिया