नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गर्नुभएको छ ।
शनिबार पार्टी संसदीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिनुभयो ।
‘पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ ।
उहाँले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सही नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ । यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागिपरेको परेको छ । त्यसैले सचेत हुनु जरुरी छ ।’
‘यो सरकार असफल पार्ने प्रयास भइरहेको छ। कांग्रेस सभापति माननीय शेरबहादुर देउवाले वीइ वील कम ब्याक भनिरहरनुभएको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘२६ गते नै ढाल्छौ अनि आउँछौ भनेको हो ।’
अध्यक्ष ओलीले कांग्रेसले खुद्रा खेल खेलिरहेको भन्दै एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बाँड्ने काम गरिरहेको बताउनु भयो । उहाँले कांग्रेसले यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा ७६ को ३ अनुसार ठूलो दलको नेताले प्रधानमन्त्री पाउने भएपनि उनीहरुको धन्दा यो सरकार ढाल्न नै केन्द्रीत हुने बताउनु भयो । उहाँले यो सरकारले विश्वासको मत नपाए धारा ५ अनुसार सरकार बन्ने तर यो सरकार ढले ७६ को ३ अनुसार सरकार बन्ने बताउनु भयो । एमाले त्यसतर्फ नलाग्ने भन्दै यही सरकारलाई सफल र प्रभावकारी बनाउन लाग्ने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको दावी गर्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताउनु भयो ।






प्रतिक्रिया