काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनी प्रश्न गर्नुभयो।
पार्टीका सांसदहरूका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको बताउनुभयो।
नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो कमीकमजोरी गरेका साथीहरूले पनि अब त्यो कुरालाई दोहोर्याउने छैनन् । अवश्य नै । यसले उहाँहरूलाई पनि फाइदा भएन । माओवादीले काँग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झर्यो । २३ सिट जितेको काँग्रेसलाई ५७ पुर्याइदियो । फाइदा के भयो ? काँग्रेसले दिने त केही होइन रहेछ । हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । बुझ्न पर्यो नि अब त ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘अब जुरो हल्लाएर काम छैन। त्यसकारण जुरो हल्लाउने, सिँगौरी खेल्ने होइन, देश र जनताको निम्ति काम गरौँ। हाम्रो आग्रह सबैसँग छ। हिजोअस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठिक छ । देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन । एमालेसँग एकता गर्छ पनि भन्छ । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तै उस्तै देख्छ । जसपा भए पनि यो त अचम्मै भो क्या । जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो । पाए काँग्रेससँग पनि लाग्ने, यता पनि लाग्थे । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ? कस्तो नीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ?’
उहाँले भन्नुभयो, ‘नारायणमानजी प्रतिनिधिसभामा उहाँको पार्टीको सङ्ख्या एक्लै छ । तर उहाँहरू आफ्नो अडान, आफ्नो विचार त राख्नुहुन्छ । उहाँहरूले काँग्रेसका समर्थन कहिल्यै पनि गर्नु भएन त । त्यति त बुझ्छन् नि । मोहनविक्रम सिंहको पार्टी विचरा त्यसको बेहाल छ। नीति, सिद्धान्त केही छैन । हामीले अलिकति मानसम्मान केही गर्यौं । भरे त फुत्ते उफ्रेर काँग्रेसको जयजयकार गर्दै हिँडिराखेका छन् । काँग्रेसलाई भोट हाल्न कुँदिराखेका छन् । त्यसकारण यो राजनीति नभएको राजनीति हामी गर्दैनौँ । गन्तव्य नभएको राजनीति हामी गर्दैनौँ । उद्देश्य नभएको राजनीति हामी गर्दैनौँ । कता जाने भनेर हामी राजनीति गर्छौ ।’






प्रतिक्रिया