अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वित्तीय संस्थाको चर्को असुली धन्दा विरुद्ध जेहाद छेड्छु : दुर्गा प्रसाईं

वित्तीय संस्थाको चर्को असुली धन्दा विरुद्ध जेहाद छेड्छु : दुर्गा प्रसाईं


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं व्यावशायी दुर्गा प्रसाईंले आफूले बैंक र वित्तीय संस्थाको चर्को व्याज असुली विरुद्ध जेहाद छेड्ने बताउनुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर प्रसाईंले बैंकहरु उहिलेका महंगा साहु जस्ता भएको आरोप लगाउनुभयो । ‘बैंकको नाफा घट्नै नहुने,सिइओले मासिक ५० लाख रुपैंया सम्म तलब खानुपर्ने’ प्रसाईंले भन्नुभयो ‘त्यो पैसा कहाँबाट आउछ त ? गरिब जनतालाई चर्को व्याज बोकाए हैन ?’
हरेक बैंक,सहकारी तथा लघु वित्त संस्थाले ऋणीको परियोजना र व्यावशाय भन्दा घरबारीमा आँखा लगाउने गरेको प्रसाईंको भनाइ छ । कतिपय बैंकले जबरजस्ती ऋण लैजान प्रेरित गर्ने केही महिनामा नै घर घडेरी लिलाम गरेर उठिबास लाउने गरेको दजर्नौ उदाहरण आफूसँग रहेको प्रसाईंले बताउनुभयो ।
ऋण दिंदा एउटा व्याज दरमा दिने तर ऋण दिइसकेपछि वित्तीय संस्थालाई मनलाग्दी बढाइदिने शैलीले महासामन्तको स्मरण हुने प्रसाईंले बताउनुभयो । ‘ऋण लिने बेलामा गरेको तमसुकमा व्याजको एउटा दर हुन्छ । बढाउने बेलामा ऋणीलाई पनि सहमत गराउनु पर्ला नि’ प्रसाईंले भन्नुभयो ‘आफू खुशी व्याज बढाएर घरबारी लिलाम गरिदिने मानिसलाई आत्महत्यामा पुर्याउने यीनै वित्तीय संस्था हुन् ।’
लुघवित्त तथा सहकारीहरुको चर्को व्याज तिर्न नसकेर कयौं मानिसले आत्महत्या गरेका उदाहरण प्रशस्त रहेको उहाँको भनाई छ । ‘केही महिना पहिले झापाको केचनामा तीनवटी किशोरी एउटै रुखमा झुण्डिएर आत्महत्या गरे । त्यसको कारण लघुवित्तको चर्को व्याज तिर्न नसकेरै हो ’ प्रसाईंले भन्नुभयो ‘यो विषय न मिडियाले उठाए न राजनीतिक विषय नै बन्यो ।’
प्रसाईंले नेपालको राजनीति दलहरुले आर्थिक र समृद्धिको विषयलाई मूख्य सिद्धान्त बनाउने पर्नेमा जोड दिनुभयो । यस्ता विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व लिए पनि उहाँका एजेण्डा बोक्ने सारथीको अभाव भएको बताउनुभयो । ‘हाम्रो पार्टीको केन्द्रीय कमिटीमा पनि को उम्मेद्वार हुने,को मन्त्री हुने,कसलाई कुन पदमा लैजाने जस्ता विषयहरु बढी छलफल हुन्छन्’ एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंले भन्नुभयो ‘जनजिविकाका सवाल,बैंक र सहकारीका नाममा जनतालाई भएको शोषण त्यसबाट मुक्त हुने विषयहरुमा छलफल हुदैन । तर अबका हाम्रा मुख्य एजेण्डा जनतासँग जोडिने विषयहरु हुनु पर्दछ । ’