अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : ईश्वर पोखरेल

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले विशिष्ट ढंगले अगाडि बढाएको बताउनु भएको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताउनु भयो ।

एमाले नेपाली जनताको आकांक्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलले बताउनु भयो ।

नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि एमालेले लोकप्रिय मत प्राप्त गरेको उहाँले महाधिवेशनमा जानकारी गराउनु भयो । उहाँले भन्नुभो, ‘चुनावमा हामीले संसदमा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौं। तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौं। एउटै दलको सरकार बनाउन संसदमा एउटै दलको बहुमत छैन। त्यसैले जनताको जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’

एमालेले वाम दलहरु एकजुट भएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौं, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौं।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गर्नुभयो ।

सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उहाँले बंगलादेशले विगतका वर्षहरूमा गरेका उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी भएको बताउनुभयो ।

नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको उहाँले बताउन भयो।