काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले केही नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दा संवैधानिक व्यवस्था भुलेर जिल्लिन पुगेको बताउनु भएकोछ।
पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले तत्कालीन पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेसको अहिलेको प्रयास व्यर्थै जाने पनि बताउनुभयो।
अध्यक्ष ओलीले सात दलीय गठबन्धन फुटाउन नेपाली कांग्रेसले गरेको प्रयासप्रति कटाक्ष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका छन् । अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ। यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ।’
‘प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाउन भ्याएछन् । प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँनुहुन्छ । कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो।’
– केपी शर्मा ओली

अध्यक्ष ओली भन्नुहुन्, ‘जसले गठबन्धनका साथीहरुलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो, उहाँहरुले संविधानको कुरै भुल्नुभएछ । तर प्रधानमन्त्री प्रस्ताव गर्नेलाई ‘तपाईंले मलाई कुन धारा अन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ ? भनेर प्रश्न गर्दा ए त्यो चाहिँ मिलेनछ भनेर उत्तर दिनुभएछ ।’
गठबन्धन फुटाउन प्रधानमन्त्री दिने आश्वासन फेल खाएपछि कांग्रेसले नयाँ कार्ड खेलिरहेको अध्यक्ष ओली बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाउन भ्याएछन् । प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँनुहुन्छ । कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो।’







प्रतिक्रिया