काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन् ।
मतदानमा २७० उपस्थित भएका थिए ।
विपक्षमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मतदान गर्नुभएको हो । उहाँहरुले प्रस्तावमाथिको छलफलमै बोल्ने क्रममा पक्षमा मत दिन नसक्ने बताउनु भएकाे थियो ।
प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि १३८ मत आवश्यक थियो। प्रधानमन्त्रीको दाबी पेस गर्दै उहाँलाई १६९ सांसदको समर्थन रहेको थियो।
संसदमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित भएपछि ८८ सांसद छन्। नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ४/४, राष्ट्रिय जनमोर्चा र नेमकिपा एक/एक र तीन स्वतन्त्र सांसद रहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो ।






प्रतिक्रिया