काठमाडौं-भारतले श्रीलंकाविरूद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा सहज जित निकालेको छ। गुवाहाटीमा मंगलबार साँझ भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो।
भारतले दिएको ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान दासुन शानकाले सतक पुरा गरे पनि टोलीलाई हराबाट जोगाउन सकेनन्। उनले ८८ बल खेल्दै १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए।
यस्तै ओपनर पाथुम निसांकाले ८० बलमा ११ चौकासहित ७२ रन बनाए पनि अन्य ब्याटर चन्न नसक्दा विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पराजित हुन पुग्यो।
खराब सुरूआत गरेको श्रीलंकाले १९ रन बनाउँदै पहिलो विकेट गुमाएको थियो। सय रन अघिनै उनका तीन ब्याट्सम्यान प्याभिलियन फर्किसकेका थिए।
श्रीलंकाका ओपनर अविष्का फ्रेनान्डो शून्य, कुशल मेन्डिस ५, चरिथ असलंका २३ र वानिन्दु हसरंगा १६ रनमा आउट भएका थिए। धनन्जय डि सिल्भाले ४० बलमा ९ चौकासहित ४७ रन जोडेका थिए।
श्रीलंकाको आठौं विकेट २०६ रनमा झरेको थियो। नवौं विकेटका लागि दासुन शनाका र कासुन रजिथाले इनिङ्स सम्हाले। शनाकाले केही शानदार शटहरू प्रहार गर्दै अन्तिम ओभरमा आफ्नो शतक पूरा गरेका थिए। उनले श्रीलंकालाई ३०० भन्दा माथि पुर्याए पनि हारबाट जोगाउन सकेनन्।
भारतका लागि उमरान मलिकले सर्वाधिक ३ विकेट लिए। मोहम्मद शिराजले दुई तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक-एक विकेट लिए।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीको शतक र रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो।
८७ बल खेलेका विराट कोहलीले १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले। कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।
त्यसअघि भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरूआत दिलाएका थिए। पहिलो विकेटका लागि गिल र रोहितले १९.४ ओभरमा १ सय ४३ रनको शतकीय साझेदारी गरेका थिए। रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट हुँदा गिलले ६० बलमा ११ चौकासहित ७० रन बनाएका थिए।
यस्तै केएल राहुलले ३९ रन बनाउँदा श्रेयश ऐरले २८ रन बनाएका थिए। यस्तै हार्दिक पान्ड्या १४ र अक्षर पटेल ९ रनमा आउट भए। श्रीलंकाका लागि कसुन रजिथाले सर्वाधिक ३ विकेट लिए। दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए।
दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ।
कोहलीले प्रहार गरे ४५औं एकदिवसीय शतक, सचिनको रेकर्डबाट चार शतक टाढा
भारतका ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४५औं शतक प्रहार गरेका छन्।
कोहलीले मंगलबार गुवाहटीमा भएको श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन्। उनले ८० बलमा शतक प्रहार गरेका हुन्।
खेलमा ११३ रन बनाएका कोहलीले ८७ बलमा १२ चौका र १ छक्का हिर्काए।
मंगलबार शतक प्रहार गरेसँगै कोहली एकदिवसीय खेलमा सर्वाधिक शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्डबाट चार शतक टाढा छन्। सचिनले एकदिवसीय खेलमा ४९ शतक प्रहार गरेका थिए।
सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीको तेस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ छन्। उनले ३० एकदिवसीय शतक प्रहार गरेका थिए।
तेन्दुल्करलाई पछिल्ला पाँच शतक प्रहार गर्न तीन वर्ष लागेको थियो। कोहलीले सन् २०२० यता अहिलेसम्म दुई शतक मात्र प्रहार गरेका छन्।
अहिले खेलिरहेका खेलाडीमध्ये सर्वाधिक एकदिवसीय शतक बनाउने खेलाडीको सूचीमा भारतका रोहित शर्मा दोस्रो स्थानमा छन्। रोहितले अहिलेसम्म २९ एकदिवसीय शतक हिर्काएका छन्।
मंगलबार एकदिवसीय शतक हिर्काएसँगै कोहलीले आफ्नो अन्तर्राष्ट्रिय शतक संख्या ७३ पुर्याएका छन्। कोहलीले ४५ एकदिवसीय शतक, २७ टेस्ट शतक र एक टी-२० अन्तर्राष्ट्रिय शतक हिर्काएका छन्।
सर्वाधिक शतक हान्ने सूचीको शीर्ष स्थानमा सचिन छन्। सचीनले ५१ टेस्ट र ४९ एकदिवसीय शतक गरी कूल सय शतक हिर्काएका थिए। विराट दोस्रो स्थानमा रहदा ७१ शतक प्रहार गरेका रिकी पोन्टिङ तेस्रो स्थानमा छन्। एजेन्सी
प्रतिक्रिया