काठमाडौं -नेकपा एमले सहतिका दलको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिनुभएको छ ।
यादवले बुधबारै मधेस प्रदेशमा मुख्यमन्त्री पदको लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ जना सांसदको समर्थनसहित यादवले मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदको उहाँलाई समर्थन छ ।
सत्ता साझेदार दल बिच मधेस प्रदेशमा जसपा र जनमत पार्टी बिच पालैपालो मुख्यमन्त्री लिने सहमति भएको छ । पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति अनुसार यादवले दाबी पेस गर्नुभएको हो ।
मधेस प्रदेश सभामा १ सय ७ सांसद छन् । सरकार बनाउनको लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।






प्रतिक्रिया