अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन गर्दै उहाँले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताउनु भएको छ । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

‘विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ’, उहाँले भन्नुभयो, ‘ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।’ प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताउनुभयो । ‘निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘गोरखा जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ ।’ उहाँले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिनुभयो ।