अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् प्रदेश हाँक्ने सात अनुहार  

यी हुन् प्रदेश हाँक्ने सात अनुहार  


काठमाडौँ । मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् । 

यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् । 

 बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । ६३ सांसदको समर्थनमा उहाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । बारा १ (२) बाट निर्वाचित यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  

यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त हुनुभएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३  र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गर्नुभएको थियो ।  

यसैगरी कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । बुधबार  प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उहाँलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको हो ।  योसँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुनुभएको छ ।  

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । एमाले संसदीय दलको नेता समेत रहनुभएका रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।   

प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । उहाँलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।  

यसैगरी बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको छ । उहाँ सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । जम्कट्टेलले सोमबार शपथसहित तीन सदस्यीय मन्त्रिमण्डल समेत गठन गर्नुभएको छ । जम्कट्टेललाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदले समर्थन गर्नुभएको छ । 

यसैगरी गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री बन्नुभएको थियो ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  अधिकारीलाई प्रदेशका ३३ सांसदको समर्थन छ ।  ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्नेमा अघिकारीलाई ३३ सांसदको समर्थन रहेको हो ।