रुपन्देही-लुम्बिनी प्रदेशमा तेस्रो मुख्यमन्त्री बन्नुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुँदै छ ।
प्रदेशका ८७ सांसदमध्ये उहाँलाई ७ दलका ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनाउन दाबी पेशपछि बुधवार प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । आज दिउसो १ बजे प्रदेश राजधानी दाङमा प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराउँदै हुनुहुन्छ ।
संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीलाई एमालेका २९, सत्तारुढ नेकपा माओवादी केन्द्रका १० राप्रपाका ४,नागरिक उन्मुक्तिका ४, जसपा, जनमतका ३ र केन्द्रमा सत्ता गठबन्धन बाहिर रहेको लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ सांसद गरी ५८ सांसदको समर्थन छ ।
शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । एमालेबाट २ र माओवादीबाट १ गरी ३ जना मन्त्री बनाउने तयारी गरिएपनि कुन मन्त्रालय कसले लिने अन्तिम टुंगो लागेको छैन ।






प्रतिक्रिया