देउखरी – लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ।
प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो। उहाँलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का आशिषकुमार चौधरी समर्थक रहनुभएको थियो।
प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था गरेको छ।
यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताउनुभयो। उहाँले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो।
मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिनुहुने सरकारका प्रवक्ता रहनुभएका मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।







प्रतिक्रिया