काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको छ।
पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि सहभागिता न्यून रहेकाले सहभागितालाई नीतिगत व्यवस्था गरी स्थानीय सरकारबाट कार्यान्वयनमा जोड दिनेछु । महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु ।’
मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने मन्त्री चौधरीको भनाइ छ।
राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।






प्रतिक्रिया